बागलुङ। बागलुङमा १९ बालबालिका सहित २१५ जनामा एचआइभी सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ। धौलागिरी प्रादेशिक अस्पतालको एआरटी (एन्टी रेट्रोभाइरल ट्रीटमेन्ट) सेन्टर र स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा नियमित औषधि सेवन गर्ने संक्रमितको संख्या २१५ पुगेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार, गत आर्थिक वर्षमा १० जना र चालु आर्थिक वर्षमा सात जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले भने, “परीक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको सङ्ख्या बढेको छ।”
धौलागिरी प्रादेशिक अस्पतालको एआरटी सेन्टरले एचआइभी संक्रमण पहिचान, परामर्श, परीक्षण तथा नियमित औषधि उपचार गर्दै आएको छ। सेन्टरले गोप्य रुपमा उपचार तथा परामर्श उपलब्ध गराइरहेकोले सङ्क्रमितहरू सम्पर्कमा आउन थालेका हुन्।
सङ्क्रमित महिला र बालबालिकाका अनुसार समाजमा विभेद र लान्छनाका कारण खुला रुपमा हिँड्न कठिनाइ छ। तर एआरटी सेन्टर र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा संक्रमितलाई औषधि, परामर्श, बाटो खर्च र पोषण लगायतका सेवा उपलब्ध गराइँदै आएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार, संक्रमितहरू अरू नागरिकसरह सामान्य जीवनयापन गर्न सक्छन्, तर सामाजिक पूर्वाग्रह र विभेद अझै उच्च स्तरमा रहेको छ।










प्रतिक्रिया