Logo

मुख्य समाचार

काभ्रेको आठ अस्पतालबाट स्वास्थ्य बीमा सेवा



काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या आठ पुगेको छ। आइतबारदेखि मण्डनदेउपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले स्वास्थ्य बीमाअन्तर्गत प्रथम सेवा प्रदान गर्न थालेसँगै जिल्लामा सेवा विस्तार भएको हो।

उक्त अस्पतालले गत साउनको अन्त्यतिर स्वास्थ्य बीमा बोर्डमा आवद्ध भई प्रथम सेवा केन्द्रका रूपमा स्वीकृति पाएको थियो। सेवाको औपचारिक उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गरेका छन्। नगरप्रमुख टोकबहादुर वाइबाका अनुसार नगर क्षेत्रका करिब ६५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध छन् र सेवा प्रभावकारी बनाउने तयारी पूरा गरिएको छ।

यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपा नगर अस्पताल तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए। धुलिखेल नगरपालिकाले भने आवश्यक भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण अवरुद्ध सेवा गत साउन २६ गतेदेखि धुलिखेल अस्पताल परिसरबाट पुनः सुरु गरेको हो। धुलिखेल अस्पताल परिसरमै चिकित्सक, नर्स र औषधिसहित ‘रिफरल’ सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

सरकारले साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थानलाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुका रूपमा अनिवार्य लागू गरेको थियो। विसं २०७६ मंसिर १ गतेदेखि सूचीबद्ध चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल, सुन्थान र खोपासी स्वास्थ्य केन्द्रले मात्र सेवा प्रदान गर्दै आएका थिए।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : ५४ बजे