काठमाडौं। निर्माण कार्यमा ढिलाइ बढेपछि नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घन्टा बन्द हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणसँग सम्बन्धित निकायहरूको आग्रहपछि सवारी आवागमन रोक्नुपर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रूपमा जारी गरेको सूचनानुसार नागढुंगादेखि पिप्लामोड र धादिङको पोखरेभिर क्षेत्रमा बिहान १०ः३० देखि अपराह्न ३ः३० बजेसम्म सवारी आवागमन बन्द रहनेछ। निर्माण व्यवसायी तथा आयोजना पक्षले लगातारको सवारी चापका कारण आवश्यक उपकरण परिचालन गर्न नपाउने र निर्माण गति प्रभावित भएको जानकारी दिएका थिए।
त्रिभुवन राजपथअन्तर्गतको नागढुंगा–नौबिसे सडक खण्ड कालोपत्रे गर्ने काम अन्तिम चरणमा रहेको छ। विशेषगरी नागढुंगा–पिप्लामोड तथा गल्छी–गजुरी बीचका साँघुरा र जोखिमयुक्त स्थानमा सडक विस्तार तथा कालोपत्रे कार्यलाई प्राथमिकता दिइएको छ।
सडक बन्द अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिने छन्। मुग्लिङतर्फबाट काठमाडौं आउने सवारी खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी र मासटारमा रोकिने व्यवस्था गरिएको छ। अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल र शववाहनलाई ट्राफिक प्रहरीले मार्ग व्यवस्थापन गर्नेछ।
साना तथा मझौला सवारीसाधनका लागि सीतापाईला–भीमढुंगा, रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ। रोकिएका सबै सवारी साधनलाई अपराह्न ३ः३० बजेपछि मात्र आवागमन गर्न अनुमति दिइनेछ।










प्रतिक्रिया