Logo

अर्थ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निर्गमन सम्बन्धी प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो।
कम्पनीको साधारणसभा आगामी मंसिर २९ गते बिहान ११ बजे मोरङ्ग, विराटनगरस्थित होटल एयरपोर्टमा हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले सोही दिन एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २८ गतेसम्म रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही बराबर अर्थात् ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद जारी गर्ने सम्पूर्ण अधिकार साधारणसभा मार्फत सञ्चालक समितिलाई प्रदान गरिनेछ ।
साधारणसभाले कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्ने, सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने तथा आर्थिक वर्ष ०८१-८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नेछ।
साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेका छन्।
कम्पनीले यसपालि लाभांश प्रस्ताव गरेको छैन । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २०८१ साल माघ ६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको थियो।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : १० बजे