काठमाडौं। पछिल्लो समय विदेशी विनिमय दर, विशेषगरी अमेरिकी डलरको मूल्य, निरन्तर बढ्दै जाँदा नेपाली अर्थतन्त्रमा नोक्सानीको दबाब गहिरिँदै गएको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार पर्यटन, निर्यात र रेमिट्यान्सले केही लाभ पाउने भए पनि समग्र अर्थतन्त्रका लागि विदेशी मुद्राको मूल्यवृद्धि प्रतिकूल बन्दै गएको छ।
थापाले मुद्रा मूल्य निर्धारण अर्थतन्त्रको तागत र आम नागरिकको आर्थिक ‘सेन्टिमेन्ट’का आधारमा हुने बताउँदै नेपालमा डलरको मजबूतीले आयात–निर्भर संरचनाका कारण लागत असामान्य रूपमा बढाएको टिप्पणी गरे। अत्यावश्यक औद्योगिक कच्चा पदार्थदेखि प्रविधि र मेसिनरीसम्मका आयात महँगिँदा उत्पादन लागत बढ्ने र उपभोग्य सामग्रीमा समेत मूल्यवृद्धि हुने उनको भनाइ छ।
उनका अनुसार वैदेशिक अध्ययनमा जाने विद्यार्थी सीधै प्रभावित हुनेछन्, किनकि नेपाली मुद्रा कमजोर हुँदा शैक्षिक खर्च बढ्ने छ। यस्तै, नेपालले वहन गरिरहेको जीडीपीको करीब २२ प्रतिशत बराबरको बाह्य ऋणको सावाँ–व्याज भुक्तानी भार पनि बढ्ने थापाले बताए। विनिमयदर बदलिँदा बजेटमा छुट्याइएको दायित्व व्यवस्थापन रकम अपुग हुने जोखिम बढ्ने र त्यसले सरकारी खर्च र योजनामा समेत असर पार्ने उनले उल्लेख गरे।
थापाका अनुसार डलर बलियो हुँदा पर्यटन क्षेत्रमा नेपाल ‘सस्तो गन्तव्य’ बनेर केही लाभ पाउने सम्भावना रहे पनि वस्तु निर्यात क्षमताको कमजोरीका कारण अर्थतन्त्रले अपेक्षित फाइदा लिन सकेको छैन। जीडीपीको करिब २.७ प्रतिशत मात्र वास्तविक निर्यात योगदान रहेकाले विदेशी विनिमयदर वृद्धिले देशले सिद्धान्ततः पाउनुपर्ने लाभ सीमित रहने उनको विश्लेषण छ।
यसैबीच, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात लागत बढेपछि मूल्य–सञ्चार (cost-push inflation) बढ्ने र समग्र अर्थतन्त्रमा थप दबाब सिर्जना हुने विशेषज्ञहरूको आकलन छ।










प्रतिक्रिया