हेटौंडा। २५–२५ मिटर सडक विस्तार अन्तर्गत ‘राइट अफ वे’ खाली गरेको दुई दिन बितिसक्दा पनि नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखाले संरचना स्थानान्तरणको काम पूरा गर्न नसकेपछि हेटौंडाको मुख्य बजारदेखि आसपासका क्षेत्रहरु अन्धकारमय बनेका छन् ।
सडक डिभिजनले राजमार्ग र शहर नजिकका संरचना हटाउन ठोसरूपमा काम अघि बढाए पनि विद्युत प्राधिकरणले तार, पोल र ट्रान्सफर्मर सार्न चासो नदेखाएको स्थानीयवासीको आरोप छ । बजार क्षेत्रमा बत्ती नबलेपछि व्यापारी तथा सर्वसाधारणले दैनिकी प्रभावित बनेको छ । बिजुली नभएपछि साँझ अप्रिय घटना हुने जोखिम बढेको भन्दै जनस्तरमा आक्रोश बढेको हो ।
राजमार्ग छेउदेखि राप्तीपुर, रातोमाटे, सामारी र औद्योगिक क्षेत्रसम्मका बासिन्दाहरु दुईदिनदेखि अन्धकारमा बस्न बाध्य छन् । मुख्यगरी रातको समयमा हिंडडुल गर्न समस्या भएको स्थानियले बताएका छन् । सडक विस्तार शुरु हुनुअघि विद्युत, पानी, इन्टरनेट तथा अन्य अत्यावश्यक संरचना व्यवस्थापनबारे पर्याप्त छलफल बिनानै भत्काउने कार्य शुरु गरिएको स्थानीयको आरोप छ ।
प्राधिकरणले काम ढिला गर्नु मात्रै स्थानीय आक्रोशको कारण बनेको छैन् । मिटर तथा पोल सार्ने नाममा ‘मनपरी शुल्क’ असुलेको आरोपले परिस्थिति थप जटिल बनाएको छ । ‘प्राधिकरणले पञ्चायत शुल्क, शिल चार्ज, सर्भिस चार्ज, स्थानान्तरण कर जस्ता विविध नाममा प्रतिघरधनी एक हजार छसयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म असुलेको छ,’ स्थानिय घरधनी रामहरी न्यौपानेले भने । ‘सडक विस्तारका नाममा घर भत्किाइयो, व्यापार पनि बन्द भयो फेरी बत्ति सार्ने नाममा पैसा तिर्नु परेको छ । सरकारी योजनामा नागरिकमाथि यति धेरै भार किन थोपारिन्छ ? यो त सरासर अन्याय हो ।’
स्थानीयलाई परेको समस्याका बारेमा स्थानिय प्रशासन र जनप्रतिनिधिहरु मौनबसेको न्यौपानेले आरोप लगाए । राइट अफ वे खाली गरिएको पहिलो दिनदेखि नै विद्युत लाइन काटिएको भए पनि प्राधिकरणले वैकल्पिक व्यवस्था गर्न नसक्नु र समयमै पोल तथा संरचना सार्ने काम नगर्नुले नागरिकको दैनिक जीवन अवरुद्ध बनेको हो ।
बत्ती, इन्टरनेट, पानी र सञ्चारजस्ता सेवाको अग्रिम व्यवस्थापन नगरी घर र संरचना भत्काइँदा नागरिकलाई अन्धकार, असुरक्षा र आर्थिक क्षतिमै छोडिएको भन्दै स्थानियहरूले ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।










प्रतिक्रिया