हेटौँडा। हेटौँडामा जारी सडक विस्तार कार्य सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि रोकिएको छ। सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले शुक्रबार तत्काल विस्तार रोक्न आदेश दिएको थियो।
सडक डिभिजन कार्यालय हेटौँडामा आइतबार दिउँसो १२ः४६ बजे आदेश दर्ता भएपछि सडक विस्तार कार्य रोकिएको हो। सडक डिभिजन हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार आइतबार दिउँसो १ बजेदेखि बाँकी संरचनामा डोजर चलाउने तयारी थियो। तर आदेश आधिकारिक रूपमा आएपछि कार्य रोकिन पुगेको उनले बताए। उनले भने, ‘अब मंसिर २६ गते हुने अदालतको छलफलपछि मात्र अगाडिको निर्णय हुने छ।’
रिट पूर्व सांसद विन्दबासिनी कंसाकारसहितले मंसिर १६ गते दायर गरेका थिए। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि विस्तार रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुवै पक्षलाई मंसिर २६ गते छलफलका लागि उपस्थित हुन भनेको छ।
कंसाकारले आफ्नो तथा बाबुले सञ्चालन गर्दै आएको व्यवसाय सडक सीमाभित्र पर्ने भएकाले उचित मुआब्जा र क्षतिपूर्ति बिना संरचना भत्काउन खोजिएको दाबी गर्दै रिट दायर गरेकी हुन्। उनका अनुसार परिवारको संरचना २५ गजभित्र पर्ने उल्लेख छ।
यद्यपि सर्वोच्च अदालतले शुक्रबार नै आदेश जारी गरे पनि सडक डिभिजनले शनिबार बिहानैदेखि सडक सीमा भित्र पर्ने करिब ५१० संरचना भत्काएको जनाएको छ। अब सडक विस्तार पुनः सुरु हुने–नहुने विषय मंसिर २६ को अदालत छलफलपछि मात्र टुंगिनेछ।










प्रतिक्रिया