Logo

मुख्य समाचार

थाइल्यान्डले कम्बोडियाको सीमामा हवाई आक्रमण गर्‍यो, युद्धविराम उल्लंघनको आरोप–प्रत्यारोप



काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद पुनः हिंसात्मक बनेको छ । थाइल्यान्डले सोमबार कम्बोडियाको विवादित सीमाक्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ ।

थाई सेनाका प्रवक्ता मेजर जनरल विन्थाई सुवारीका अनुसार कम्बोडियाली सैनिकबाट गोलाबारी सुरु भएपछि त्यसको जवाफस्वरूप हवाई हमला गरिएको हो । उनका अनुसार बिहान करिब ५ बजे उबोन रत्चाथानी प्रान्तको सिमानामा झडप सुरु भएको थियो ।

रोयल थाई एयर फोर्स (आरटीएएफ)का प्रवक्ता एयर मार्शल जैक्रिट थम्माविचाईले सुरानारी टास्क फोर्ससँग समन्वय गरेर आक्रमण गरिएको बताए । उनले कम्बोडियाली सेनाका गतिविधिले थाई नागरिक र सुरक्षाकर्मीको ज्यान जोखिममा परेको दाबी गरे ।

थाइल्यान्डले कम्बोडियाले सीमा क्षेत्रमा भारी हतियार तैनाथ गरेको आरोप पनि लगाएको छ ।

यसको प्रतिउत्तरमा, कम्बोडियाको रक्षा मन्त्रालयले थाई सैन्य कारबाहीलाई “निर्दयी र अमानवीय” भन्दै कडा भर्त्सना गरेको छ । मन्त्रालयका अनुसार डिसेम्बर ८ को बिहान प्रीह विहार प्रान्तमा थाई सेनाले गोलाबारी र ट्यांक आक्रमण गरेको हो ।

कम्बोडियाली सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल मैली सोचियाटाले टामोन थोम मन्दिर, प्रीह विहार क्षेत्र र आसपासका भागमा आक्रमण भएको जानकारी दिए । उनले यसलाई छ हप्ता अघि हस्ताक्षर भएको द्विपक्षीय शान्ति सम्झौताप्रति गम्भीर उल्लंघन भनेका छन् ।

यद्यपि, कम्बोडियाले आफ्नो पक्षले जवाफी कारबाही नगरेको र उच्च संयम अपनाएको दाबी गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा दुई देशबीच युद्धविराम सम्झौता भएको थियो । तर, उक्त सम्झौता दुई महिनामै भङ्ग भएको छ ।

स्थिति तनावपूर्ण रहेको र दुवै देशका सुरक्षाफौज उच्च सतर्कतामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १० : ४२ बजे