Logo

विश्व

ट्रम्प युक्रेन शान्ति वार्ताबाट निराश, प्रक्रिया छाड्ने संकेत



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताबाट आफू निराश भएको बताएका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म शान्ति प्रस्ताव नपढेको दाबी गर्दै यस प्रक्रियाबाट पछि हट्न सक्ने संकेत गरेका हुन्।

वासिङटन डीसीस्थित केनेडी सेन्टरमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म अलिक निराश छु, किनभने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म शान्ति प्रस्ताव पढेकै छैनन्।”

यसअघि अमेरिका र युक्रेनका प्रतिनिधिबीच मियामीमा तीन दिनसम्म शान्ति प्रस्तावसम्बन्धी छलफल भएको थियो । तर, उक्त वार्ता निष्कर्षमा पुग्न सकेन । यद्यपि दुवै पक्षले वार्ता सकारात्मक रहेको जनाएका छन् ।

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि आफ्ना बाबु शान्ति वार्ताबाट पछि हट्न सक्ने बताएका छन् । दोहा फोरममा बोल्दै उनले युक्रेनलाई रुसभन्दा बढी भ्रष्ट देश भएको टिप्पणी गरे र जेलेन्स्कीलाई ‘धेरै राम्रो प्रचारक’ भने ।

युक्रेनले रुसले कब्जा गरेका क्षेत्रमाथिको आफ्नो दाबी त्याग्न अस्वीकार गर्दै आएको छ । यसैबीच, युक्रेनका शीर्ष अधिकारी आन्द्रे येर्माकमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेपछि उनको घरमा छापा परेको र त्यसपछि उनले पदबाट राजीनामा दिएको रिपोर्ट सार्वजनिक भएको छ ।

यसअघि अमेरिका र रुसका प्रतिनिधिबीच मस्कोमा पनि बैठक भएको थियो । बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छलफल सकारात्मक भए पनि शान्ति सम्झौता सहज नभएको बताएका थिए ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले छिट्टै लन्डनमा बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रप्रमुखहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । यसले युक्रेन शान्ति प्रक्रिया अझै जटिल बन्दै गएको देखिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १० : १० बजे