Logo

प्रविधि

डिशहोमले नेपाली दुईतर्फी भ्वाइस एआई ‘खुसी’ सार्वजनिक गर्‍यो



काठमाडौं । डिशहोमले नेपालमै विकास गरिएको दुईतर्फी भ्वाइस एआई ‘खुसी’ सार्वजनिक गरेको छ। ग्राहक सेवा, सेवा पुनःनवीकरण, गुनासो–सुझाव सङ्कलन र नेटवर्क अवरोधसम्बन्धी जानकारी दिने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको हो।

डिश मिडिया नेटवर्क लिमिटेडका अनुसार ‘खुसी’ ले सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा संवाद गरी पुनःनवीकरणका लागि सम्पर्क गर्नेछ। यसले ग्राहकका प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी सम्बन्धित ग्राहक सेवा केन्द्रसम्म पुर्‍याउनेछ। साथै, कुराकानीका क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया विश्लेषण (सेन्टिमेन्ट एनालाइसिस) गरी प्रतिवेदन तयार गर्ने क्षमता पनि प्रणालीमा समावेश गरिएको छ।

नेटवर्कमा प्राविधिक समस्या आएर सेवा अवरुद्ध हुँदा ‘खुसी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय र प्रगति विवरण उपलब्ध गराउनेछ। यसबाट उच्च कल चाप भएका अवस्थामा पनि ग्राहकलाई समयमै यथार्थ जानकारी प्रदान हुने कम्पनीको दाबी छ।

आगामी चरणमा ‘खुसी’ लाई ग्राहक पहिचान प्रमाणीकरण, विवरण सङ्कलन तथा स्वचालित रूपमा डेटाबेस अद्यावधिक गर्ने क्षमतासहित विस्तार गरिनेछ। जडान र प्राविधिक मर्मतका लागि समय व्यवस्थापनमा पनि एआईको प्रयोग गरी ग्राहकको उपलब्धताअनुसार समय निर्धारण र पुनःसमायोजन गरिनेछ।

डिशहोमले फेसबुक मेसेंजर र वेबच्याटमा प्रयोग हुँदै आएको च्याटबोटमा ‘खुसी’ एकीकृत गर्दै आगामी चरणमा व्हाट्सएप र भाइबरमा समेत विस्तार गर्ने योजना बनाएको छ।

नेपाली भाषामा आधारित संवादात्मक एआईको स्तर र दायरा विस्तार गर्न कम्पनीले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्यको तयारी समेत अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : ०२ बजे