Logo

समाचार

देशैभरी जिल्ला प्रशासन अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध प्रदर्शन



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

२८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी रुपमा प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको हो ।

जसपा नेपालको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार तीनदिनदेखि लगातार देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन एवं धर्ना दिँदै आएको छ । 

यसअघि, जसपा नेपालले २८ बुँदे माग सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईसकेको छ । यही मंसिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनको लागि देशब्यापी रुपमा शान्तिपूर्ण आन्दोलन स्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ ।

जसपा नेपालले संविधान संशोधन÷पुनर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनु पर्ने, राष्ट्रिय÷जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गर्दै आएको छ ।

यसैगरी, जेन–जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनुपर्ने, जेन–जी विद्रोहलाई दवाउन सरकारले गरेको दमनका कारण, भए गरेका हिंसा, हत्या, आगजनी विध्वंश जस्ता क्रियाकलापहरूको छानबीन गरी दोषीमाथि कारबाही गर्न उसले माग गरेको छ ।

शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र ब्यापारीकरणको अन्त्य, किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिँचाई, मल खाद, बिऊ– विजन, किट्नाषक औषधी र कृषि बजारको व्यवस्था गरिनु जस्ता माग जसपा नेपालले उठाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ५९ बजे