Logo

मुख्य समाचार

मोरङकी १२ वर्षीया अंशु गौतम बलात्कारपछि हत्या, आरोपी पदम अधिकारी सार्वजनिक




विराटनगर। मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतम बलात्कारपछि हत्या भएको प्रकरणमा संलग्न ५९ वर्षीय पदम अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी अधिकारीको परिचय खुलासा गरेको हो। अधिकारी अंशुको छिमेकी तथा ज्यालादारी मजदुर रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार अधिकारीले किशोरीले घटनाबारे आफन्तलाई बताइदिने डरले हत्या गरेको पुष्टि भएको छ।

असोज २१ गते विद्यालय गएकी अंशु साँझसम्म घर फर्किन नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो। भोलिपल्ट प्रहरीमा निवेदन दिँदा खोजी प्रक्रिया थालिएको थियो। कात्तिक ७ गते मोरङको बेलबारीस्थित चिसाङ साझेदारी वनमा घाँस दाउरा गर्न गएका तीन जनाले कुहिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठायो। शवसँगै भेटिएको चप्पल, कालो हाफ पाइन्ट र कपडाबाट परिवारले अंशुको पहिचान गरेको थियो। प्रहरीले त्यसपछि डीएनए परीक्षण गरी पहिचान पुष्टि गरेको थियो।

कोसी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी मोरङ र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले व्यापक अनुसन्धान गरेको थियो। एसपी कवित कटुवालका अनुसार प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ र ४५ जनाको लिखित बयान संकलन गरेको थियो। मोबाइल डेटा, कल विवरण, फरेन्सिक विश्लेषण र सुराकीको आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीका अनुसार आरोपी अधिकारीले विद्यालय नजिकै खेलिरहेकी अंशुलाई बहानाबाजी गर्दै आफूसँग लैजान खोजेका थिए। उनीसँगै रहेकी युरिका महतारालाई पाँच रुपैयाँ दिई आफ्नो दिदी खोज्न पठाएपछि अधिकारीले अंशुलाई “घाँस काट्न सहयोग गर्न” भन्दै साइकलमा राखेर करिब चार किलोमिटर टाढाको जंगल पुर्‍याएका थिए। त्यहाँ उनले पहिले बलात्कार गरी त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए। अनुसन्धान अनुसार अधिकारीले हसिँयाले घाँटी रेटेर शव जंगलमै फालेका थिए।

घटना भए लगत्तै अधिकारी गाउँ छोडेर भारतको आसामतर्फ भागेका थिए। फरार अवस्थामा उनले प्रहरीको निगरानीलाई चुनौती दिएका थिए, तर सुक्ष्म अनुसन्धान र सुराकीको आधारमा उनलाई पक्राउ गर्ने अवस्था बनाइएको थियो। प्रहरीका अनुसार अधिकारीविरुद्ध मुलुकी अपराध संहिता अनुसार ज्यान सम्बन्धी र करणी सम्बन्धी मुद्दा दर्ता गरिनेछ। अंशु गौतम कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिका थिइन्।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ०५ बजे