काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले पार्टी सभापति रवि लामिछानेलाई लक्षित गरी राजनीतिक प्रतिशोध भएको/नभएको विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै खनालले सरकारमा रहँदा समेत कतिपय नेताहरूले ‘राजनीतिक प्रतिशोध भयो’ भन्ने आरोप लगाउँदै आएको उल्लेख गरे । अब सरकारले यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनले बताए ।
“सरकारबाहिर रहँदा आफैँले राजनीतिक प्रतिशोध भयो भन्नु भयो, अहिले सरकारमा रहेपछि त्यसबारे सरकारको के धारणा छ भन्ने कुरा सार्वजनिक हुनुपर्छ,” उनले भने ।
खनालले रास्वपा निर्वाचनको तयारीमा रहेको र भयरहित वातावरणमा निष्पक्ष चुनाव सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । साथै, विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने उनले जोड दिए ।
उनका अनुसार रास्वपाले सरकारसँग हुने औपचारिक तथा अनौपचारिक छलफलमा रवि लामिछानेको विषय उठाउँदै आएको छ । “सरकारको मुख्य दायित्व समयमै निर्वाचन गराउनु हो, यही आधारमा हामीले सरकारलाई समर्थन गरेका हौँ,” खनालले भने ।










प्रतिक्रिया