काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसले चुनावमा कुनै पनि प्रकारको ‘थ्रेट’ वा दबाब स्वीकार नगर्ने स्पष्ट पारेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ पुष्पा भुसालले निर्वाचनको वातावरण सुरक्षित र निष्पक्ष बनाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन्। उनले मतदाता, उम्मेदवार, मतदान केन्द्र तथा समग्र चुनावी वातावरणलाई सुरक्षित बनाउन कुनै पनि प्रकारको धम्की, त्रास वा अवरोध सह्य नहुने कांग्रेसको अडान रहेको स्पष्ट गरिन्।
उनले भनिन्, “यदि थ्रेटको वातावरण बन्यो भने त्यसको जिम्मेवारी सरकारको हुनेछ। त्यसैले सरकारले समयमै तयारी र सावधानी अपनाउनुपर्छ।” साथै, सुरक्षा निकायसम्बन्धी चुनौती समाधानका लागि पनि सरकारलाई आवश्यक सुझाव दिएको उनले जानकारी दिइन्।
बैठकमा कांग्रेसले सरकारले घोषणा गरेको मितिमै चुनावमा जान तयार रहेको समेत औपचारिक रूपमा जानकारी दिएको छ। तर निष्पक्ष र सुरक्षित चुनावी वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी सरकारकै हुने नेतृ भुसालको भनाइ छ।
कांग्रेसले आवश्यक परे निर्वाचन सम्पन्न गर्न सहयोग गर्न तयार रहेको पनि बैठकमा स्पष्ट पारेको छ।










प्रतिक्रिया