Logo

अर्थ

एनसेल फाउन्डेसनले एनपीएल चौकाबाट २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने


१९ मंसिर २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा प्रहार भएका प्रत्येक चौकाको आधारमा २,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ। यो सामाजिक पहल अन्तर्गत विद्यार्थीहरुलाई सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, पेन्सिल, शार्पनर, इरेजर लगायतका सामग्री वितरण गरिनेछ।

बिहीबारसम्म खेलिएका खेलमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्, जसले २,०४० शैक्षिक सामग्री वितरण सुनिश्चित गरेको छ। चौका प्रहार गर्ने शीर्ष खेलाडीमध्ये पोखरा अवेन्जर्सका एडम रोसिङटनले २७ चौकासहित १०८ सामग्री वितरणमा योगदान दिएका छन्। लुम्बिनी लायन्सका डार्सी सर्टले १९ चौकासहित ७६ सामग्री, काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले समान रूपमा १७–१७ चौकासहित ६८–६८ सामग्री वितरणमा योगदान गरेका छन्।

एनसेल फाउन्डेसनकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भने, “क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यसँग जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने हाम्रो पहल जारी छ। बाँकी खेलहरूले पनि शिक्षामा योगदान थप्नेछ।”

गत वर्षको पहिलो एनपीएल सिजनमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो। यस वर्षको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ३ : १३ बजे