काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै हालसम्म ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको सुन प्रमाणपत्र (Gold Certificate) खरिद गरेको छ । विदेशी मुद्रा सञ्चितिलाई सुदृढ बनाउन र पोर्टफोलियो विविधीकरणका लागि उक्त लगानी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको कात्तिक मसान्तसम्म राष्ट्र बैंकको सुन प्रमाणपत्रमा कुल लगानी एक खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असार मसान्तको लेखापरीक्षण गरिएको तथ्यांकभन्दा ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढी हो । चार महिनाको अवधिमा सुन प्रमाणपत्रमा लगानी २८ प्रतिशतले बढेको छ ।
गत आव २०८१/८२ को कात्तिक मसान्तसम्म सुन प्रमाणपत्रमा ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ लगानी रहेको थियो । त्यसको तुलनामा एक वर्षमा ६५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ थपिएको छ ।
राष्ट्र बैंकका अनुसार भौतिक सुन किनेर भण्डारण गर्नुभन्दा अन्तर्राष्ट्रिय बजारमा सुनसँग जोडिएका वित्तीय उपकरणमा लगानी गरिएको हो । यसले जोखिम कम गर्ने र तरलता व्यवस्थापन सहज बनाउने बैंकको दाबी छ ।
विदेशी विनिमय सञ्चिति बढेर २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेपछि अतिरिक्त सञ्चिति सुनमा लगानी गरिएको सहप्रवक्ता सुमन न्यौपानेले बताए । हालको सञ्चितिले १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था छ ।
सुन प्रमाणपत्र र स्थानीय सुनचाँदीमा गरिएको लगानी जोड्दा राष्ट्र बैंकको कुल सुनसम्बन्धी लगानी कात्तिक मसान्तसम्म करिब दुई खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यद्यपि, भौतिक सुन तथा चाँदीको मौज्दात भने गत असारको तुलनामा खासै परिवर्तन भएको छैन ।
सुनमा गरिएको यो लगानी राष्ट्र बैंकको पोर्टफोलियो व्यवस्थापन रणनीतिको एक हिस्सा भएको बैंकले जनाएको छ । आवश्यक परे उक्त सम्पत्ति बेचेर घाटा व्यवस्थापन, तरलता सन्तुलन वा सरकारी वित्तीय आवश्यकता पूरा गर्न सकिने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा, सुन र अन्य अन्तर्राष्ट्रिय सेक्युरिटीमा गरिएको लगानीकै प्रतिफलबाट गत आवमा करिब ४२ अर्ब रुपैयाँ सरकारलाई बुझाइएको थियो । साथै, मुद्रा निष्कासनका लागि यी सम्पत्तिहरू धितोका रूपमा पनि प्रयोग हुनेछन् ।










प्रतिक्रिया