काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक सूचना प्रकाशित हुँदासमेत कुनै पनि उम्मेदवारको आवेदन नपरेको छ।
उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो चरणमा गत कात्तिक १६ देखि ३० गतेसम्म दरखास्त आह्वान गरेको थियो। त्यस अवधिमा आवेदन नपरेपछि समितिले समय थप गर्दै मंसिर ५ गतेसम्म पुनः सूचना जारी गरेको थियो। तर, दोस्रो सूचनामा पनि कुनै उम्मेदवारको निवेदन दर्ता भएन।
यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक आह्वान गर्दै स्वास्थ्य क्षेत्रका प्राध्यापक तथा विद्यावारिधि प्राप्त, इच्छुक र योग्य नेपाली नागरिकलाई निवेदन दिन अनुरोध गरेका छन्। उनले आवश्यक परे आफूलाई नै सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।
संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भइसकेको छ। तर, उपकुलपति नियुक्ति नहुँदा विश्वविद्यालयको औपचारिक संरचना र सञ्चालन प्रक्रिया अघि बढ्न सकेको छैन।










प्रतिक्रिया