Logo

मुख्य समाचार

गुण्डुमा ओली–पोखरेल पक्षबीच तीन घण्टा छलफल, ११औँ महाधिवेशनमा प्रतिस्पर्धा निश्चित



काठमाडौं । एघारौँ महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र अध्यक्षको विषयलाई लिएर तीव्र गतिविधि बढेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब तीन घण्टा लामो छलफल गरेको छ।

पोखरेलसँगै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई पनि छलफलमा सहभागी थिए। छलफलको मुख्य विषय आगामी महाधिवेशन, नेतृत्व चयन प्रक्रिया र संगठनात्मक रणनीतिमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

ओलीले तेस्रोपटक अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने पोखरेलले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने स्पष्ट संकेत दिएका छन्। दुवै पक्ष आ–आफ्नो टिम निर्माण र अवस्था मजबुत पार्ने तयारीमा छन्। तर, धेरै नेताहरूले अहिलेसम्म खुला रूपमा कुनै एक पक्ष रोजेका छैनन्।

ओलीले अन्तिम समयमा मात्र टिम घोषणा गरेर धेरै नेताहरूलाई समेट्ने रणनीति लिएको स्रोतको दाबी छ। अर्कोतर्फ पोखरेल पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिँदै समर्थन विस्तार गर्ने तयारी गरिरहेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्यता नदिइएको भन्दै असन्तुष्टि जनाउँदै आएकी छन्। उनले पोखरेललाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति अन्तिम समयमा ओलीले तोडेको दाबी पनि गरेकी छन्।

यस घटनाक्रमसँगै एमालेभित्र नेतृत्व टकराव थप तीव्र बन्दै गएको छ र ११औँ महाधिवेशन निर्णायक हुने संकेत देखिएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ३ : ०६ बजे