काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघको अबेईस्थित शान्ति मिसनका लागि नयाँ फोर्स कमान्डर नियुक्त गरेका छन्। घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि श्रेष्ठलाई फोर्स कमान्डरको जिम्मेवारी दिइएको हो।
३६ वर्षदेखि नेपाली सेनामा सेवा गर्दै आएका श्रेष्ठले सेनाभित्र विभिन्न नेतृत्वदायी पदमा काम गरिसकेका छन्। उनी हाल दक्षिण सुडानको संयुक्त राष्ट्र मिसन (UNMISS) मा सेक्टर पूर्वका सेक्टर कमान्डरका रूपमा कार्यरत छन्। यसअघि उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी तथा वीरेन्द्र सैनिक अस्पतालमा प्रशासनिक रजिस्ट्रारका रूपमा काम गरिसकेका छन्। साथै, नेपाली सेनाको मुख्यालयमा नीति तथा योजना निर्देशनालयको नेतृत्व पनि सम्हालेका थिए।
श्रेष्ठले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयअन्तर्गतको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री हासिल गरेका छन्।
२५ असोजमा ५८ वर्षे उमेर सीमा पुगेका बलाधिकृत रथी निर्मलकुमार थापा अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए। थापा पनि लामो समय संयुक्त राष्ट्रका विभिन्न मिसनमा फोर्स कमान्डर रहेर योगदान दिएका थिए।
श्रेष्ठ संयुक्त राष्ट्रको फोर्स कमान्डर बन्ने आठौँ नेपाली सैनिक भएका छन्।










प्रतिक्रिया