काठमाडौं । नेपाली कांग्रेसले नियमित महाधिवेशनमै जाने निर्णय गरेको छ । यस निर्णयका लागि पहल गरेको भन्दै पार्टीका युवानेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर धन्यवाद दिएका छन् ।
विशेष महाधिवेशनतर्फ जाने तयारी भइरहेका बेला सभापति देउवाकै सक्रियतामा पार्टी नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरेको उनीहरूको भनाइ छ । नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्णका अनुसार पार्टीलाई नियमित महाधिवेशनमै पुर्याएकोमा धन्यवाद दिन युवाहरु भेटमा पुगेका थिए ।
भेटका क्रममा युवानेताहरूले महाधिवेशन प्रक्रिया सहज र एकताबद्ध रूपमा सम्पन्न गर्न देउवासँग आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले तोकिएको मितिमै महाधिवेशन सम्पन्न हुने सुनिश्चिता व्यक्त गर्दै सबैलाई एकताबद्ध भएर पार्टी संगठन बलियो बनाउन निर्देशन दिए ।
नेविसंघ नेता दिपक भट्टराईका अनुसार देउवाले लोकतन्त्र र देशको भविष्यका विषयमा चिन्ता व्यक्त गर्दै पार्टीलाई दुर्घटनाबाट जोगाउन सबै नेताकर्मी जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेसले केही दिनअघि नियमित महाधिवेशनको मिति र तालिका सार्वजनिक गरिसकेको छ । नेतृत्वको आग्रहअनुसार पार्टीभित्र एकता कायम गर्दै महाधिवेशनको तयारी अघि बढाइएको छ ।










प्रतिक्रिया