Logo

खेलकुद

लुम्बिनीको प्लेअफ सम्भावना जीवित, विराटनगर पाँच विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ। यो लुम्बिनीको प्रतियोगितामा तेस्रो जित हो।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा आठ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

लुम्बिनीका डी’एर्सी शर्टले सर्वाधिक ५७ रनको योगदान दिए भने निरोशन डिकवेलाले अविजित २९ रन बनाए। सन्दीप जोराले २४ र दिलिप नाथले १६ रन जोडे। कप्तान रोहितकुमार पौडेल शून्य रनमै आउट भए।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई–दुई विकेट लिए भने बसिर अहमेदले एक विकेट लिए।

यसअघि विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए। साम हेजलेटले २७ र बसिर अहमेदले २८ रन जोडे। विराटनगरका चर्चित विदेशी खेलाडी फाफ डु प्लेसिस आफ्नो पहिलो खेलमै १२ रनमै आउट भए।

लुम्बिनीका शेर मल्लले चार ओभरमा तीन विकेट लिँदै टोलीको जित सुनिश्चित गरे। यससँगै उनले एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा स्थान बनाएका छन्। रुबेन ट्रम्पेलम्यान, अभिषेश गौतम र जेजे स्मिथले समान एक–एक विकेट लिए।

यो हारसँगै विराटनगरले लिग चरण समाप्त हुनुअघि नै प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर गुमाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ४६ बजे