Logo

राजनीति

बूढीगण्डकी आयोजनाको काम छिटो अघि बढाउन सरकार सक्रिय



काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजना छिटो अगाडि बढाउन सरकार सक्रिय भएको बताएकी छन्। आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करको रकम वार्षिक खातामा जम्मा हुने प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको उनले जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले ऊर्जा तथा अर्थ मन्त्रालयलाई सम्बन्धित प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिइसकेकी छन्।

यसै विषयमा उनले बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गोरखा र धादिङका प्रभावित क्षेत्रका पूर्वजनप्रतिनिधि तथा स्थानीय सरोकारवालासँग छलफल गरेकी छन्। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री कार्यालयका अन्य अधिकारीहरूको पनि उपस्थित थियो।

पूर्वप्रधानमन्त्री भट्टराईले आयोजनालाई केवल विद्युत् उत्पादनमा सीमित नगरी बहुउद्देश्यीय विकास गर्न प्राधिकरण गठन गर्न सुझाव दिएका छन्।

बूढीगण्डकी जलविद्युत् आयोजना १,२०० मेगावाट क्षमताको हुने अनुमान गरिएको छ। आयोजनाको प्रारम्भिक लागत २०७९ मा २ खर्ब ५५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो भने हाल ४ खर्ब नाघ्ने अनुमान छ। सरकारले आयोजना क्षेत्रको जग्गा अधिग्रहण गरी ४२ अर्ब रुपैयाँ स्थानीय जग्गाधनीलाई मुआब्जा पनि भइसकेको छ। आयोजनाको निर्माण सम्पन्न हुन कम्तीमा आठ वर्ष लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : २२ बजे