काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले घोषित निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । बुधबार (मंसिर १७) सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै पार्टीले आफूहरूका विभिन्न मागसहित ध्यानाकर्षण गराएको हो ।
पार्टीका नेता सुदन किराँतीका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, साथै निर्वाचनमा उम्मेदवार बन्ने उमेर १८ वर्षमा नै तोक्न कानुनी व्यवस्था गरिनुपर्ने माग सरकारसमक्ष राखिएको छ ।
भदौ २४ गते भएका घटनाहरूलाई संक्रमणकालीन न्यायका सिद्धान्त अनुरूप निष्पक्ष ढंगले छानबिन गरी दोषीलाई कारबाही र निर्दोषलाई न्याय गर्नुपर्ने मागसमेत गरिएको छ । ‘जेनजी’हरुले उठाएका न्यायपूर्ण माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।
यस्तै कृषिक्षेत्रमा विगतमा भएको बजेट हिनामिनाको छानबिन, किसानलाई समयमा मल–बीउ उपलब्ध गराउने, कोभिडपछि आर्थिक संकटमा परेका साना व्यापारीलाई राहत दिने, सहकारी ठगी, मिटरब्याज र लघुवित्तसम्बन्धी बेइमानीमा संलग्नलाई कारबाही गर्ने माग पनि पार्टीले उठाएको छ ।
वैदेशिक रोजगारीका क्रममा श्रम स्वीकृतिमा रहेको झन्झटिलो प्रक्रिया हटाइयोस् भन्ने माग गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने प्रस्तावसमेत सरकारसमक्ष राखिएको नेता किराँतीले जानकारी दिए ।










प्रतिक्रिया