मुगु — नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी र मापदण्डविपरीत भएको भन्दै स्थानीय नेता–कार्यकर्ताले आपत्ति जनाएका छन्।
आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको भए पनि एकै वडाबाट तीन जना प्रतिनिधि पर्नु अनियमितता र पक्षपातपूर्ण अभ्यासको उदाहरण भएको असन्तुष्ट पक्षको आरोप छ।
एमाले केन्द्रीय संगठन विभागले करिब २,३५८ संगठित सदस्यको आधारमा मुगुबाट खुला २, महिला २, दलित १ र अल्पसंख्यक–समावेशी १ गरी ६ प्रतिनिधि छनोट गर्न निर्देशन दिएको थियो। तर भूगोल, संगठनिक संतुलन र सक्रियताको मापदण्ड बेवास्ता गरिएको स्थानीय कार्यकर्ताको दाबी छ।
जिल्ला इन्चार्जसहित पदाधिकारीले तयार पारेको सूचीमा छायाँनाथ रारा नगरपालिका–१, छ्त्यालवाडाबाट जितबहादुर मल्ल, दानसिंह परियार र जयबहादुर नेपाली गरी तीन प्रतिनिधि परेका छन्। सोरु गाउँपालिकाबाट डिल्ली भट्ट, खत्याड गाउँपालिकाबाट कविता गिरी र मुगुम कार्मारोङ गाउँपालिकाबाट छिरिङ पुटिक लामा चयन भएका छन्।
कर्णाली प्रदेश कमिटी सदस्य डबल रोकायाले प्रक्रियालाई पूर्णतः अपारदर्शी र पहुँचवादी भन्दै आपत्ति जनाए। उनका अनुसार दशकौँदेखि विभिन्न ठाउँमा सक्रिय नेताहरूसँग परामर्श नै नगरी निर्णय थोपारिएको छ, जसले असन्तुष्टि र आन्तरिक विभाजन बढाएको छ।
असन्तुष्ट पक्षका कार्यकर्ताले सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत पहुँचवादी चयन प्रवृत्ति संस्थागत हुन लागेको आरोप लगाउँदै प्रतिनिधि सूची पुनः समीक्षा गर्न केन्द्रीय नेतृत्वसँग माग गरेका छन्।










प्रतिक्रिया