कैलाली — गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३–२४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका कारण आगामी निर्वाचन बिथोलिन नदिइने स्पष्ट पारेका छन् ।
मंगलबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आन्दोलनका क्रममा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको जानकारी दिए । यस्तै, हालसम्म ४ हजार ५५२ कैदीबन्दी अझै कारागारमा फिर्ता हुन बाँकी रहेको भन्दै उनीहरूको खोजी तथा पक्राउका लागि विशेष ‘अपरेसन’ सञ्चालन भइरहेको बताए ।
“केही विषयलाई अनावश्यक रूपले अतिरञ्जित गरिएको छ,” गृहमन्त्री अर्यालले भने, “सरकारले शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध छ ।”
उनले लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै सरकार वार्ता, संवाद र सहमतिमार्फत सबै पक्षको भावना समेटेर अघि बढिरहेको बताए । विधिको शासन, हस्तक्षेपमुक्त प्रशासन र सुशासन कायम गरी तय समयमै निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातारण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । “देशलाई सही मार्गमा लैजान निर्वाचन अपरिहार्य छ, सबै एकजुट हुन आवश्यक छ,” उनले भने ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले केन्द्र सरकारले सबै राजनीतिक दलसँग समन्वय गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा सुरु भएको गोष्ठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशका नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । गोष्ठीमा प्रदेशस्तरीय सुरक्षा चुनौती, अपराध नियन्त्रण र निर्वाचन सुरक्षाका विषयमा छलफल भइरहेको छ ।










प्रतिक्रिया