काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुआत गरेको छ ।
मंगलबार (मंसिर १६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले पावर प्ले (पहिलो ६ ओभर) मा १ विकेट गुमाएर ५९ रन बनाएको हो ।
क्रिजमा रहेका माज सदाकत २६ र अनिलकुमार शाह ६ रनमा खेलिरहेका छन् । ओपनर आसिफ शेख भने १८ रन बनाउँदै आउट भए । उनलाई चितवनका कमलसिंह ऐरीले ५.१ ओभरमा बोल्ड गरेका हुन् ।
यसअघि चितवनले चार विकेट गुमाएर १७६ रन बनाएको थियो । चितवनका लागि मलान र अर्जुन साउदले अर्धशतक बनाएपछि टोलीले प्रतिस्पर्धात्मक योगफल खडा गरेको हो ।
अहिलेसम्म लगातार चार खेल हारिसकेको जनकपुरका लागि यो खेल जित्नु अत्यावश्यक छ । जित हासिल गरे मात्र टोलीको प्लेअफ सम्भावना गणितीय रूपमा कायम रहनेछ । चितवनले भने चारमध्ये दुई खेल जितेको छ र यस खेलमा जित हासिल गरे प्लेअफ सम्भावना बलियो बन्नेछ ।










प्रतिक्रिया