Logo

मुख्य समाचार

अक्षय गोल्याणद्वारा सहिदका बालबालिकालाई दीर्घकालीन सहयोगको प्रतिबद्धता



काठमाडौं । गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले ‘जेनजी’ आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन शैक्षिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सामाजिक सञ्जाल लिंक्डइनमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित बनाउन संस्थागत रूपमा सहयोग निरन्तर रहने स्पष्ट पारेका हुन्।

गोल्याण ग्रुपले यसअघि नै सहिद परिवारका ३२ जना बालबालिकालाई मासिक ४० हजार रुपैयाँसम्म छात्रवृत्ति दिने घोषणा गरिसकेको छ। कक्षा–१२ सम्म अध्ययनका लागि प्रतिविद्यार्थी वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ प्रदान गर्नेगरी ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता भइरहेको बताइएको छ।

विश्व बाल दिवसको अवसरमा ती बालबालिकालाई ‘किड्स–प्ले डेट’ कार्यक्रममा आमन्त्रण गरिएको थियो। सो अवसरका भिडियो साझा गर्दै गोल्याणले कार्यक्रम मनोरञ्जनका लागि मात्र नभई बालबालिकालाई सुरक्षा, सम्मान र आशाको सन्देश दिनका लागि आयोजना गरिएको उल्लेख गरेका छन्।

सहयोगको उद्देश्य कठिन परिस्थितिमा रहेका बालबालिकालाई एक्लो महसुस हुन नदिनु रहेको बताउँदै उनले भविष्यमा पनि साथ नछाड्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। गोल्याणले बालबालिकामा देखिएको मुस्कान, ऊर्जा र सिर्जनशीलताले सकारात्मक भविष्यको संकेत दिएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : २३ बजे