काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) मा गम्भीर सुरक्षा चुक देखिएको छ । छानबिन समितिले प्रदर्शनको प्रारम्भिक अवस्थामै प्रहरी र सशस्त्रबीच समन्वय हुन नसकेको निष्कर्ष निकाल्दै एउटा डीएसपीलाई विभागीय कारबाही सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार सामान्य प्रदर्शनमा समेत सुरुआती चरणमै एपीएफ परिचालन गर्दा नेपाल प्रहरीसँग प्रभावकारी तालमेल नमिलेको पाइएको छ । समितिको निष्कर्षमा सुरुआती दंगा नियन्त्रणको जिम्मा नेपाल प्रहरीलाई दिइनुपर्ने र अवस्था जटिल बन्दा मात्रै सशस्त्र परिचालन गर्नुपर्ने उल्लेख छ ।
आन्दोलनका क्रममा बानेश्वरस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसबाट ११ थान एसएलआर राइफल जलेका थिए । सो बेसका कमान्डर डीएसपी गौतम कुँवरमाथि ती हतियार जोगाउन नसकेको र समयमै टोली परिचालन नगरेको आरोप लागेको छ ।
छानबिनमा डीएसपी कुँवरले परिस्थितिको सही विश्लेषण नगरेको, सुरक्षाकर्मीहरूलाई प्रभावकारी रूपमा परिचालन नगरेको र कार्यालय छोड्दा आवश्यक तयारी नगरेको खुलेको छ । सोही आधारमा उनलाई विभागीय कारबाहीका लागि सशस्त्र प्रहरी बलको मुख्यालयले सिफारिस गरेको छ । छानबिन प्रतिवेदन आईजीपी राजु आर्याललाई बुझाइएको छ ।
सुरक्षा निकायमा हतियार सुरक्षामा चुक हुनु गम्भीर अपराध मानिने भएकाले यस घटनालाई उच्च संवेदनशीलताका साथ लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।










प्रतिक्रिया