काठमाडौँ — नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले प्रभु बैंकका प्रमुख प्रबन्धकसहित तीन कर्मचारीमाथि अनुसन्धान अघि बढाएपछि बैंकले वरिष्ठ कर्मचारी निरज लम्साल लाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ।
बैंकले २०८२ मंसिर १४ गते जारी गरेको विज्ञप्तिमा लम्सालले सोही मितिदेखि कार्यकारी नेतृत्व सम्हाल्ने उल्लेख गरिएको छ। अनुसन्धानका कारण व्यवस्थापन तहमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्दै बैंकको दैनिक सञ्चालन सुगम र प्रभावकारी बनाउने उद्देश्यले लम्साललाई जिम्मेवारी तोकिएको बैंकले जनाएको छ।
विज्ञप्तिमा बैंकका सबै शाखाबाट प्रदान हुने सेवा नियमित, निरन्तर र अविच्छिन्न रूपमा सञ्चालन हुने पुष्टि गरिएको छ। अनुसन्धान प्रक्रियाले दैनिक कारोबार, वित्तीय सुशासन, लगानीकर्ताको हित तथा ग्राहक सेवामा कुनै नकारात्मक प्रभाव नपर्ने दाबी बैंकले गरेको छ।
बैंकले सञ्चालक, ग्राहक र शेयरधनीहरूबाट प्राप्त विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको छ।










प्रतिक्रिया