काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार पनि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेपछि प्रक्रिया अघि बढ्न सकेको छैन। न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको रिट बिहीबारदेखि लगातार ‘हेर्दाहेर्दै’ सूचीमै राखिँदै आएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला अनुसार अबको पेसी मंसिर १५ गते तोकिएको छ। यही इजलासले नै रिटमा अन्तिम फैसला गर्ने सम्भावना रहेको उनले बताए।
मधेस प्रदेशमा धारा १६८(२) अन्तर्गत नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिई राजीनामा दिएपछि दलहरूले पुनः सोही धाराअनुसार नयाँ सरकार गठनको आग्रह गरेका थिए। तर तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले आवश्यक आह्वान नगरी काठमाडौं जाने क्रममा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
यादवको नियुक्ति संविधानको धारा १६१(३) विपरीत भएको दाबी गर्दै ११० सदस्यीय प्रदेशसभामध्ये ७४ जनाको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका छन्। साथै अर्जुन साह र रक्कीप्रसाद साहद्वारा दायर सार्वजनिक सरोकारका रिट पनि विचाराधीन छन्।
यी तीनै रिटमा याअघि जारी अन्तरिम आदेशका कारण सरोजकुमार यादव हाल कामचलाउ मुख्यमन्त्रीको हैसियतमा रहेका छन्। उनी कामचलाउ अवस्थामै मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्।










प्रतिक्रिया