Logo

राजनीति

प्रधानमन्त्री कार्कीद्वारा जंगी अड्डा निरीक्षण, निर्वाचन सुरक्षा तयारीबारे ब्रीफिङ


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सोमबार नेपाली सेनाको मुख्यालय जंगी अड्डा निरीक्षण गरी आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सुरक्षा तयारीबारे जानकारी लिइन्। निरीक्षणका क्रममा सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती तथा चुनाव लक्षित कार्ययोजना प्रस्तुत गरेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।

सरकार गठनपछि शान्ति–सुरक्षा सुदृढ गर्दै फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको जिम्मेवारी भएको प्रधानमन्त्री कार्कीले बताइन्। उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सेनालाई तोकिएको जिम्मेवारी निर्वाह गर्ने भरोसा व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन, प्रहरी कारबाहीलाई सहज बनाउन तथा राजनीतिक दलहरूको गतिविधि अवरोधरहित रूपमा सञ्चालन हुने वातावरण निर्माण गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन्। उनले आगामी चुनावमा कुनै पनि प्रकारको हिंसा नघट्ने गरी सुरक्षा निकायबीच समन्वय मजबुत बनाउन आदेश समेत दिइन्।

जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी गरी नियन्त्रणमा लिन तथा फरार अपराधी पक्राउमा सहयोग गर्न सेनालाई सक्रिय भूमिका निभाउन उनले निर्देशन गरेको सचिवालयको भनाइ छ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल र प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ०९ बजे