Logo

प्रवास

एनआरएनएमा एकताको तयारी, अभियन्ता र नेतृत्वहरु काठमाडौं आउन थाले


१२ मंसिर २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ऐतिहासिक एकता नजिकिएको छ।

दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच विस्तृत छलफल, कानुनी व्याख्या तथा संस्थागत विश्लेषणपछि पूर्ण सहमति फाइनल गरिएको हो। सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।

एकता सभाको पूर्वसन्ध्यामा दुवै पक्षका शीर्ष नेताहरू काठमाडौं आइपुगेका छन्। एकताको अभियानमा क्रियाशील निबर्तमान आइसीसी अध्यक्ष आरके शर्मा, प्रवक्ता गङ्गाधर गौतम, मध्यपूर्व संयोजक आरसी रमेश श्रेष्ठ, एनआरएनए कतारका निबर्तमान अध्यक्ष रमेश भट्टलगायत टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

स्वागतका लागि एनआरएनए आईसीसी अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष खगेन्द्र न्यौपाने, मनोज कुमार श्रेष्ठ, युवा संयोजक भिमसेन थापालगायत नेतृत्व टोली तथा अभियानकर्ताहरू उपस्थित थिए। विमानस्थलमा एकता र पुनर्मिलनको खुसीयाली झल्किने वातावरण सिर्जना भएको थियो।

दुवै पक्षले विगतका सबै विवाद र मतभेदलाई अन्त्य गर्दै सर्वोच्च अदालतका आदेशलाई सम्मान गर्ने, संस्थागत वैधानिकता र नेतृत्वका प्रश्नलाई सहमतिको माध्यमबाट टुंग्याउने निर्णय गरेका छन्। अदालतले मान्यता दिएको ११औं महाधिवेशनको नेतृत्वलाई स्वीकार गर्दै, एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई औपचारिक रूपमा संघको नेतृत्वमा पदस्थ गराइने सहमति गरिएको छ।

आगामी छ महिनाभित्र पारदर्शी र विश्वासयोग्य १२औं महाधिवेशन गर्ने दुवै समूहको साझा प्रतिबद्धता रहेको छ। त्यसका लागि अध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा स्टेयरिङ कमिटी गठन गरिनेछ, जसले निर्वाचन, अनुगमन, सदस्यता व्यवस्थापन, न्यायिक संयन्त्र तथा एमआइएस सिस्टम सुधारसहित सबै संरचना व्यवस्थित रूपमा सञ्चालन गर्नेछ। दुवै समूहले १०औं र ११औं महाधिवेशनबाट निर्वाचित संरचनालाई आधिकारिक रूपमा स्वीकार गर्ने निर्णयसँगै लामो समयदेखिको विभाजन अन्त्य हुँदै संस्थागत एकता बलियो हुने निश्चित भएको छ।

एनआरएनएको वैधानिकता तथा आधिकारिकतासम्बन्धी अदालतमा विचाराधीन मुद्दाहरू आपसी सहमतिमा फिर्ता लिने वा समाधान गर्ने निर्णयपछि संघ अब कानुनी दबाबमुक्त हुँदै एकीकृत ढङ्गले अघि बढ्नेछ। सहमतिपत्र परराष्ट्र मन्त्रालयको रोहवरमा हस्ताक्षर हुने र कुनै पनि विवाद उत्पन्न भए मन्त्रालयकै संयोजनमा समाधान गरिने उल्लेख छ।

अध्यक्ष महेश श्रेष्ठले एकतालाई विश्वभर रहेको नेपाली समुदायलाई एउटै उद्देश्यमा जोड्ने ऐतिहासिक अवसर बताएका छन्। अध्यक्ष डा.बद्री केसीले संस्थालाई स्थायित्व, पारदर्शिता र विधिबद्धताका साथ अघि बढाउने साझा प्रतिबद्धताले दुवै पक्ष एकजुट भएको बताए।

नेपाल आइपुगेपछि निबर्तमान अध्यक्ष आरके शर्माले ८० लाख प्रवासी नेपालीको मुद्दा र आम नेपाली जनमानसको भरोसालाई केन्द्रमा राख्दै दिगो एकतामा पुगेको सन्देश दिए। प्रवक्ता गङ्गाधर गौतमले वर्षौँदेखि देखिएको विभाजन, तिक्तता र असमझदारी अन्त्य गर्दै गैरआवासीय नेपालीबीच भाइचारा र सहकार्यको आधार तयार भएको बताए।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ११ : २० बजे