Logo

राजनीति

देउवासँग कांग्रेस संस्थापन पक्षको छलफल सुरु



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी संस्थापन पक्षका वरिष्ठ नेताहरूले महाधिवेशनसम्बन्धी रणनीतिमा केन्द्रित छलफल सुरु गरेका छन्। देउवा अवस्थित महाराजगंज निवासमा बिहीबारदेखि छलफल जारी छ।

कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशनबारे मतभेद चरममा पुगेका बेला संस्थापन पक्षले आगामी चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान दोहोर्‍याएको छ। यसको विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका पक्षमा छन् भने नेता डा. शेखर कोइराला चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन्।

शेखर समूहले विशेष महाधिवेशनका हस्ताक्षरकर्तासमेतलाई सहभागी गराउँदै नियमित महाधिवेशनको दबाब बढाएका छन्। उनीहरूले विशेष महाधिवेशन नै गर्नुपरे केन्द्रीय समितिको निर्णय र जिम्मेवारीमा हुनुपर्ने माग अघि सारेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने विशेष महाधिवेशन कुनै हालतमा नगर्नुपर्ने पक्षमा रहँदै पुस मसान्तभित्र आवश्यक कार्यतालिका ल्याउनुपर्नेमा जोड दिँदै आएका छन्। तर, संस्थापन पक्षले “चुनाव वा महाधिवेशनमध्ये एउटै विकल्प छान्नुपर्ने” भन्दै आन्तरिक ध्रुवीकरणलाई तीव्र बनाएको छ। विशेष महाधिवेशन गराउनेहरूकै जिम्मेवारीमा प्रक्रिया अघि बढाउनुपर्ने भन्ने अभिव्यक्तिले पार्टी फुटको सम्भावनाबारे पनि चर्चा बढेको छ।

सभापति देउवा चुनावअघि महाधिवेशन गरिएमा आन्तरिक विवाद चर्कने र त्यसले चुनावी परिणाममा नकारात्मक असर पार्ने चेतावनी दिँदै आएका छन्। यद्यपि, उनले पार्टीको भावी नेतृत्व गर्ने समूहले महाधिवेशनका बारेमा अन्तिम निर्णय लिनुपर्ने भन्दै आफू त्यसविरुद्ध उभिने छैनन् भन्ने संकेत गरेका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  २ : १४ बजे