काठमाडौँ — युकेमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्शदाता कम्पनी जेनेस सलुशन र ओमान डेटा पार्कबीच क्लाउड रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (MoU)मा हस्ताक्षर गरिएको छ।
सोमबार मस्कटस्थित ओमान डेटा पार्कको मुख्यालयमा आयोजित कार्यक्रममा जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी) का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
ओमान डेटा पार्कले जारी गरेको विज्ञप्तिअनुसार समझदारीपछि दुई कम्पनीले क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा तथा सफ्टवेयर विकासका क्षेत्रमा संयुक्त पहल अघि बढाउनेछन्। विज्ञप्तिमा ओडीपीको सुरक्षित स्थानीय पूर्वाधार र जेनेसको विश्वव्यापी विशेषज्ञता संयोजनमार्फत ओमान तथा आसपासका क्षेत्रमा उन्नत प्रविधिगत सेवा विस्तार हुने उल्लेख छ। दुवै कम्पनीले क्लाउड सेन्टर अफ एक्सिलेन्सको प्रवर्द्धन तथा संयुक्त एआइ समाधान विकासमा पनि काम गर्ने भएका छन्।
जेनेस सलुशनका सीइओ फुयाँलले सहकार्यपछि ओडीपीका सेवाक्षमता सुदृढ गर्दै ओमान तथा अन्य मुलुकका ग्राहकलाई उन्नत तथा विस्तारयोग्य डिजिटल सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए। उनका अनुसार क्लाउड, एआइ, साइबर सुरक्षा तथा सफ्टवेयर इन्जिनियरिङमा जेनेसको अन्तर्राष्ट्रिय अनुभव साझेदारीमार्फत उपयोग गरिनेछ।
फुयाँलका अनुसार यस सहकार्यले नेपालको टेक क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर खोल्नेछ र नेपाली व्यावसायिक तथा प्राविधिक जनशक्तिलाई उच्च मूल्यका परियोजनामा सहभागी हुने सम्भावना बढाउनेछ।
सन् २०१६ मा स्थापनादेखि जेनेस सलुशनले विश्वभरका संस्थालाई क्लाउड ट्रान्सफर्मेसन र डिजिटल आधुनिकीकरणसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। एडब्लुएस प्रिमियर टियर पार्टनरसहित एशिया, युरोप, अफ्रिका तथा उत्तर अमेरिकाका १० देशमा यसको व्यवसायिक उपस्थिति छ।
यसैबीच, नोभेम्बरमा नास्दाक–सूचीबद्ध कम्पनी फ्युजमसिन्सले आफ्नो एआइ स्टुडियो तथा एआइ इन्जिन्सका लागि जेनेस सलुशनलाई विश्वव्यापी ‘अधिकृत रिसेलर’ नियुक्त गरेको थियो।
ओमान डेटा पार्क सन् २०१२ मा स्थापित ओमानको प्रमुख प्रविधि सेवा प्रदायक कम्पनी हो, जसले Uptime Institute तथा TIA प्रमाणित Tier III तथा Tier III+ डेटा सेन्टरमार्फत क्लाउड, साइबर सुरक्षा तथा अन्य डिजिटल सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार हाल ओडीपीले ८०० भन्दा बढी सरकारी, कर्पोरेट तथा साना–मझौला संस्थालाई सेवा दिइरहेको छ।










प्रतिक्रिया