Logo

मुख्य समाचार

कञ्चनपुरको हुलाकी सडक आठ वर्षदेखि अधूरै, १२ किलोमिटर कालोपत्रे बाकी



कञ्चनपुर — कञ्चनपुरमा साढे आठ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्ग पूरा हुन नसकेको छ। पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर सडक २०७३ फागुनमा तीन प्याकेजमा निर्माण शुरु गरिएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य भए तापनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण बारम्बार म्याद थप्नुपरेको र सडक अझै अपूरो रहेको हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले जनाएको छ।

हालसम्म ५० किलोमिटर मात्र कालोपत्रे भएको छ। कार्यालयका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार दोस्रो प्याकेजअन्तर्गत २२ किलोमिटरमध्ये करिब १२ किलोमिटर कालोपत्रे हुन सकेको छैन। “दोस्रो प्याकेजको १,१०० मिटर भारतसँगको सीमा विवादमा परेपछि निर्माण रोकिएको हो,” प्रमुख लामिछानेले बताए। उनका अनुसार तेस्रो प्याकेज अन्तिम चरणमा पुगेको छ।

दोदा नदीमा पक्की पुल निर्माणसहितका कामका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सडक आंशिक रूपमा प्रयोगमा आएपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दाको महेन्द्रनगर तथा धनगढी आवागमन सहज बनेको छ।

स्थानीयवासीले भने लामो ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। “अढाइ वर्षमा सकिनुपर्ने सडक साढे आठ वर्ष बित्दा पनि नबन्दा नागरिकले वर्षौंदेखि सास्ती व्यहोर्नुपरेको छ,” बेलौरीका शिक्षक केशव विष्टले बताए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : ०६ बजे