Logo

राजनीति

निर्वाचनमा सबै दल सहभागी हुने विश्वास : मन्त्री खरेल



दोलखा — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन्। आइतबार कालिञ्चोक गाउँपालिका–८, सुनखानीमा आयोजित बधाइ तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकार चुनावका लागि पूर्ण तैयार अवस्थामा रहेको बताए।

उनका अनुसार निर्वाचनअनुकूल वातावरण तयार भइसकेको छ र सरकारले निष्पक्ष निर्वाचनका लागि आवश्यक व्यवस्था सुनिश्चित गर्ने छ। “हाम्रो मुख्य लक्ष्य निर्वाचन हो। सबै दलले निर्वाचनमा भाग लिन्छन्,” मन्त्री खरेलले भने।

मन्त्री खरेलले सुशासनमा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै छ महिनाभित्र आम नागरिकले परिवर्तनको अनुभूति हुनेगरी सरकार काम गर्ने दाबी गरे। जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनले आन्दोलनका घाइते तथा मृतकको योगदान खेर नजान दिन सरकार प्रतिबद्ध रहेको बताए।

उनले राजनीतिक अस्थिरता र स्वार्थ केन्द्रित राजनीतिले शिक्षा क्षेत्रदेखि समग्र विकासमा गम्भीर असर पारेको आरोप लगाउँदै स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई अबको प्रमुख एजेन्डा बनाउनुपर्ने बताए।

गृह जिल्ला दोलखा पुगेका मन्त्री खरेललाई कालिनाग माध्यमिक विद्यालयले स्वागतसहित सम्मान गरेको थियो। कार्यक्रमका क्रममा उनले कालिनाग मन्दिरको दर्शन, गाउँपालिकाको कार्यालय निरीक्षण तथा विभिन्न स्थानीय कार्यक्रममा सहभागिता जनाए। उनले जिल्लाकै १०२ वर्षका ज्येष्ठ नागरिकबाट आशिर्वाद पनि लिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ११ : १५ बजे