Logo

राजनीति

परराष्ट्र सचिव राईले महावाणिज्यदूतलाई नेपाल ‘खुला र स्थिर’ रहेको सन्देश पुर्‍याउन आग्रह



काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले आइतबार काठमाडौंस्थित विभिन्न देशका मानार्थ महावाणिज्यदूत तथा वाणिज्यदूतहरूसँग भेट गरी नेपाल राजनीतिक रूपमा स्थिर र विदेशी लगानी तथा अन्तर्राष्ट्रिय सहकार्यका लागि ‘खुला’ भएको सन्देश सम्बन्धित देशमा पुर्‍याउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको छलफलमा सचिव राईले भदौ २३–२४ को जेन–जी प्रदर्शनपछि बनेको नयाँ राजनीतिक वातावरणबारे जानकारी दिँदै जनआकांक्षाअनुसार समावेशी र उत्तरदायी शासनतर्फ नेपाल अघि बढिरहेको बताए। उनले प्रदर्शनका क्रममा भएको क्षतिको बाबजुद मुलुकका प्रमुख आर्थिक सूचकहरू स्थिर रहेको मूल्यांकनसमेत प्रस्तुत गरे।नेपालले नवीकरणीय ऊर्जा, आधुनिक पूर्वाधार, सूचना प्रविधि, कृषि आधुनिकीकरण र उत्पादन क्षेत्रमध्ये प्रत्यक्ष विदेशी लगानीलाई सक्रिय रूपमा प्रोत्साहन गरिरहेको उल्लेख गर्दै राईले लगानीकर्तासँग जोडिन महावाणिज्यदूतहरूलाई सहयोग गर्न आग्रह गरे।राईले पर्यटन क्षेत्र विस्तारका लागि नयाँ गन्तव्य विकास भइरहेको बताउँदै नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग मागे। साथै, जलविद्युत्, कृषि उत्पादन, जडीबुटी, हस्तकला र आईटी सेवामा ठूलो व्यापारिक सम्भावना रहेको पनि उनले उल्लेख गरे।सांस्कृतिक सम्पदा, कलात्मक परम्परा र ‘सफ्ट पावर’ नेपालका कूटनीतिक बल भएको बताउँदै उनले शैक्षिक तथा सांस्कृतिक आदानप्रदान, युवा अन्तरक्रिया र ज्ञान साझेदारी विस्तार गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारे। विश्वस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य बढाउने तयारीबारे पनि उनले जानकारी दिए।आगामी फागुन २१ गते हुने चुनावका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यवेक्षक स्वागत गर्न तयार रहेको सचिव राईले बताए। उनले महावाणिज्यदूतहरूको भूमिकाले नेपाल–मित्रराष्ट्र सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ५९ बजे