Logo

मुख्य समाचार

प्राध्यापकको लापरबाहीले एसईई–कक्षा १२ को नतिजा ढिलाइ हुने गरेको आरोप मन्त्री पुनको



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको आरोप लगाएका छन्।

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रममा उनले ४–५ लाख विद्यार्थीको नतिजा सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्नु अस्वाभाविक रहेको भन्दै यसको समाधान आवश्यक रहेको बताए।

मन्त्री पुनका अनुसार विश्वविद्यालयहरू सम्बन्धन दिने कार्यमै केन्द्रित हुँदा शिक्षाको गुणस्तर कमजोर बन्दै गएको छ। उनले मन्त्रालयको पुँजीगत बजेटको १ प्रतिशत विश्वविद्यालयलाई उपलब्ध गराउने विषयमा काम भइरहेको उल्लेख गरे।

उनले सम्बन्धन दिने होड बढिरहेको तर विद्यार्थी संख्या क्रमशः घट्दै गएको अवस्थालाई पनि चिन्ताजनक बताए। मन्त्री पुनले विश्वविद्यालयहरूले शोध तथा अनुसन्धानमुखी शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३४ बजे