विराटनगर । सुनसरीको दुहबीमा एमाले नेता महेश बस्नेत र नेता भानुभक्त ढकाल सवार गाडी सडक क्रस भएपछि स्थानीय युवाले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार प्रदर्शनकारीले सडकमा आगजनी गरेपछि प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएर सडक सुचारु गरेको छ। खड्काले बस्नेतको गाडी गुज्रिएपछि मात्र टायर बालिएको जानकारी दिए।
यसअघि विराटनगर विमानस्थल क्षेत्र नजिकै दुई युवाले बस्नेत सवार गाडीमा रातो मसी प्रहार गरेका थिए। मसी प्रहार गर्ने विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार गौतम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला सदस्य हुन् भने कुँवर पनि नेविसंघ निकट रहेको बताइएको छ।
बस्नेत विराटनगर विमानस्थल हुँदै सुनसरीको इटहरीतर्फ जाँदै थिए।










प्रतिक्रिया