मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी चयन गर्दै कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको छ ।
राप्रपा जिल्ला पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकले अध्यक्ष उमेश थापाको नेतृत्वमा क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको हो। बैठकमा पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा क्षेत्रीय नीतिगत तयारीसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो ।
बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का पदाधिकारीहरू यसप्रकार छन्, अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषाध्यक्षमा विकास दुलाल र सह–सचिवमा मनोज मोक्तान जिम्मेवारीमा चयन गरिएको छ। नयाँ कार्यसमितिले जिल्लाभित्र संगठनात्मक वृद्धि, जनसंपर्क विस्तार र पार्टी नीति कार्यान्वयनलाई प्राथमिकता दिने जनाएको छ ।
पदाधिकारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष उमेश थापाले देशको वर्तमान राजनीतिक अवस्थाले जनताको भरोसा गुमाएको टिप्पणी गरे। उनले २०७२ सालको संविधान कार्यान्वयनको दशक बितिसक्दा पनि शासन व्यवस्थामा स्थिरता, सुशासन र आर्थिक प्रगतिका ठोस परिणाम नदेखिएको बताए। उनका अनुसार, वर्तमान गणतान्त्रिक संरचनाले राष्ट्रको दीर्घकालीन हित र स्थिरताको ग्यारेन्टी गर्न नसकेको भन्दै वैकल्पिक राजनीतिक मार्गप्रति जनताको आकर्षण बढिरहेको छ।
थापाले भने, ‘अब हिन्दू राज्य र राजसंस्था पुनस्र्थापना नगरिकन यो देशमा अरु कुनै उपाय बाँकी छैन। गणतन्त्र र २०७२ को संविधान काम नलाग्ने भइसकेको छ। नेपालमा पुनः राजसंस्था र हिन्दू राज्य स्थापना गर्दै नयाँ युग सुरु गर्नुपर्ने आवश्यकता छ ।’
उनले राप्रपाको मुख्य एजेन्डा राष्ट्रियता, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण र राजनीतिक स्थिरता रहेको दोहो¥याए ।
कार्यक्रममा सहभागी अन्य नेताहरूले नयाँ पदाधिकारीले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गरी पार्टीप्रतिको विश्वास पुनःस्थापित गर्ने अपेक्षा व्यक्त गरेका छन् । राप्रपा मकवानपुर क्षेत्र नम्बर १ ले निकट भविष्यमा विस्तारित बैठक, प्रशिक्षण कार्यक्रम र जनसंपर्क अभियान सञ्चालन गर्ने तयारी गरेको छ। पार्टीका अनुसार आगामी चरणमा वडा तथा टोलस्तरमा संगठन विस्तारलाई तीव्र बनाइनेछ ।










प्रतिक्रिया