Logo

राजनीति

मंसिर २१ देखि २७ सम्म मतदाता नामावली संशोधन गर्न सकिने



काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत गरेको छ। आयोगका अनुसार मंसिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन तथा अन्य आवश्यक संशोधनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आयोगद्वारा जारी विज्ञप्ति अनुसार आगामी फागुन २० सम्म १८ वर्ष उमेर पुरा गर्ने नागरिक मतदान योग्य ठहरिनेछन्। फागुन २० सम्म १८ वर्ष पुग्ने व्यक्तिहरूको विवरण मंसिर २० गते सार्वजनिक गरिने आयोगले जनाएको छ।

निर्धारित अवधिमा झुटा विवरणका आधारमा नाम समावेश भएको दाबी गर्दै उजुरी दर्ता गर्न सकिनेछ। एउटाभन्दा बढी स्थानमा नाम सूचीकृत भएकाहरूले एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिन सक्ने व्यवस्था पनि आयोगले गरेको छ। मृत्यु भइसकेका वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन समेत सोही अवधिमा अनुरोध गर्न सकिनेछ।

संशोधनका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई वा आयोगको अनलाइन प्रणालीमार्फत निवेदन दर्ता गर्न सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ८ : १२ बजे