काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो अपोइन्टमेन्ट बैंकिङ सेवा काठमाडौँ उपत्यकाका १३ शाखामा विस्तार गरेको छ । तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध रहेर आएको यो सेवा अब कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वर शाखामा लागू भएको बैंकले जानकारी दिएको छ।बैंकका अनुसार व्यस्त पेशाकर्मी, व्यवसायी तथा समय अभाव हुने ग्राहकलाई छिटो र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो । अपोइन्टमेन्टमार्फत ग्राहकले नगद तथा चेक कारोबार लाइनमा नबसिकन गर्न सक्ने सुविधा प्रदान गरिएको छ ।प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेवा विस्तारले ग्राहक–बैंक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नबिल बैंकले आफ्ना सेवाग्राहीलाई वेबसाइट र एनबैंक एपमार्फत अपोइन्टमेन्ट लिन सक्ने व्यवस्था मिलाएको छ ।नबिल बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले देशको बैंकिङ क्षेत्रलाई आधुनिक र डिजिटल सेवा प्रवाहतर्फ उन्मुख बनाउन निरन्तर पहल गर्दै आएको जनाएको छ ।
४ मंसिर २०८२, बिहिबार
23
Shares








प्रतिक्रिया