Logo

राजनीति

निष्पक्ष भयरहित निर्वाचनका लागि सेना परिचालन सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय



काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको परिषद्को ४१औँ बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन संविधानको धारा २६६ को उपधारा (१) अनुसार सेना परिचालन सिफारिस गर्ने निष्कर्ष निकालेको हो। बैठकपछि रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले निर्णयबारे जानकारी दिए।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामा आवश्यक संशोधन गरी स्वीकृत गरेको र त्यसलाई राष्ट्रपतिसमक्ष पेस गर्ने पनि निर्णय गरिएको सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रिय सुरक्षासम्बन्धी सम्भावित चुनौती, हालैका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको परिषद्ले जनाएको छ।

बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको थियो। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ६ : १२ बजे