Logo

अर्थ

वेतन कर्णालीको ९३ अर्ब लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनामा ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँको लगानी स्वीकृत गरेको छ। बुधबार (मंसिर ३) बसेको बोर्डको ६७औँ बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार परियोजनाको लगानी स्वीकृत गर्दै परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले गत आर्थिक वर्ष ०८१/८२ को प्रगति समीक्षा गरी चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना पारित गरेको छ। बैठकले तल्लो अरुण (६६९ मेगावाट) जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्र मस्यौदा स्वीकृत गर्दै अनुमतिपत्र जारी गर्न प्रमुख कार्यकारी अधिकृतलाई अधिकार दिएको छ।

त्यसैगरी, ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजनाको डाइरेक्ट एग्रिमेन्ट मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ। ८०० मेगावाटको पश्चिम सेती जलाशययुक्त परियोजनाको सर्वेक्षण अनुमतिपत्र म्याद थप्ने निर्णय पनि बैठकले गरेको छ।

हङकङस्थित ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेडले पेस गरेको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क (लागत १६ अर्ब) परियोजनालाई अनसोलिसिटेड प्रस्तावका रूपमा लिँदै विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि समझदारी गर्ने र सर्वेक्षण अनुमतिपत्र जारी गर्न सीईओलाई अख्तियारी दिने निर्णय भएको छ।

लगानी बोर्ड कार्यालयका लागि चालु आर्थिक वर्ष २०८२/८३ का आवश्यक सेवा, समूह र श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ संशोधन मस्यौदा मन्त्रिपरिषद्मा पठाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ सहभागी थिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : २८ बजे