काठमाडौं । कुनै समय काठमाडौं उपत्यकाभित्रका उत्कृष्ट क्याम्पसहरुमध्ये पर्ने काठमाडौं ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसको इतिहास जोगाउँदै गुणस्तरीय शिक्षा र सुशासनयुक्त व्यवस्थापन कायम राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
विक्रम संवत २०१६ सालमा स्थापना भएको क्याम्पसमा प्रविधिमैत्री र समय सापेक्षित शिक्षा जोड दिनुपर्ने वक्ताहरुको भनाइ थियो ।
सोमबार आयोजना गरिएको क्याम्पसको साधारण सभा २०८२का क्रममा क्याम्पस प्रशासन, प्राध्यापक, शिक्षक संगठन, विभिन्न विद्यार्थी संगठनलगायत सरोकारवालाहरुले शैक्षिक सुधार र आर्थिक पारदर्शितामा जोडदिन क्याम्पस प्रशासनलाई सुझाब दिए ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष मनिषराज बस्नेतले विद्यार्थी संगठन, प्रशासन र शिक्षक तथा प्राध्यापकहरुले सबैले आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने, विद्यार्थीहरुका समस्या र हकहितका लागि संगठनहरुले काम गर्नुपर्ने बताए । साथै क्याम्पस प्रशासनले आर्थिक पारदर्शिता र शैंक्षिक सुधारका लागि काम गर्नुपर्नेमा उनले जोड दिए ।
अनेरास्वव्यु क्रान्तिकारीका अध्यक्ष राजेशबाबु बगालेले पनि विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई माथि उकास्न क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु लाग्नुपर्नेमा जोड दिए । आफ्नो उज्ज्वल भविष्यको योजना बनाएर क्याम्पसमा अध्ययन गर्न आउने हरेक विद्यार्थीहरु योग्य नागरिक बनाउने काममा क्याम्पस प्रशासनले काम गर्नुपर्ने बताए ।
अनेरास्वव्युका अध्यक्ष लोकमणी जोशीले क्याम्पसमा विद्यार्थीहरुको संख्यामा वृद्धि गर्न क्याम्पस प्रशासनले शैक्षिक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनका अनुसार विद्यार्थीहरुको हकहितका लागि पनि क्याम्पसले काम गर्नुपर्नेछ र क्याम्पसमा हुने आर्थिक अनियमितता हटाउन नवनियुक्त क्याम्पस प्रमुखले काम गर्नुपर्ने उनले बताए ।
प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष रुद्रहरी ज्ञवालीले पनि कार्यक्रममा बोल्दै साधारण सभाले सरस्वती बहुमुखी क्याम्पसलाई कसरी नयाँ दिशामा लैजाने र कसरी क्याम्पसको शैक्षिक गुणस्तर बढाउने भन्ने बारेमा निष्कर्ष निकाल्नुपर्ने र सोहि अनुसार काम गर्नुपर्ने बताए ।
क्याम्पस प्रशासनले पनि विद्यार्थी संघ संगठनहरुका जायज मागलाई सम्बोधन गर्नुपर्ने र संगठनहरुले पनि क्याम्पस प्रशासनसँग हातेमालो गर्दै क्याम्पसलाई सहि दिशामा अघि बढ्न सहयोग गर्नुपर्ने बताए ।
साधारण सभामा उठेका सवालहरुको जवाफ दिदै क्याम्पस प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले सरोकारवाला निकायहरुको राय सुझाब लिएर सोहि अनुसार क्याम्पसको हकहितका लागि काम गर्ने योजना बनाएको बताए ।
कार्यक्रममा बोल्दै उनले क्याम्पसको आर्थिक पारदर्शिता, शैक्षिक सुधार, र भौतिक पुर्वाधार निर्माण लगायतका काममा जोड दिने बताएका छन् । क्याम्पसमा हुने गरेका आर्थिक अपारदर्शितामा तथा शैक्षिक व्यवस्थापनसम्बन्धी अनियमितताप्रति उनले कडा असन्तुष्टि जनाउँदै सुधारका लागि कडा नीतिहरू लागू गर्ने घोषणा गरेका हुन् ।
क्याम्पस प्रमुखले ३० वर्षको संस्थागत अनुभव सुनाउँदै क्याम्पसमा देखिँदै आएको ‘लुट्न सके लुट’ प्रवृत्तिले संस्था कमजोर बन्दै गएको बताए । उनले राजनीतिक दबाब, व्यक्तिगत सम्बन्ध र आर्थिक अनियमितताका कारण क्याम्पसको मूल शैक्षिक चरित्र कमजोर भएको भन्दै अब कडा नियमनमार्फत सुधार अनिवार्य भएको बताए ।
क्याम्पस प्रमुखले आर्थिक पक्षमा कडाइ आवश्यक रहेको उल्लेख गर्दै विचार समूह, प्राध्यापक संघ, कर्मचारी युनिट तथा वित्तीय जिम्मेवारीमा रहेका सबैलाई सो सम्बन्धी कागजात सार्वजनिक गर्न आग्रह गरे । आर्थिक पारदर्शिता नहुँदा संस्थामाथि नै गम्भीर प्रश्न उठेको उनले बताए ।
क्याम्पसमा मध्यस्तरको सबैभन्दा ठूलो समस्या ‘मोनिटरिङको कमी’ रहेको बताउँदै उनले अबदेखि सबै विभाग प्रमुखले मास्टर रुटिन तयार गरी क्याम्पस प्रशासनमा बुझाउन अनिवार्य हुने जानकारी दिए ।
एकै प्राध्यापकले एउटै कक्षामा दुई विषय पढाउन नपाइने, कक्षा वितरण क्षमताका आधारमा हुने र डाइरेक्टर तथा डिपुटी डाइरेक्टरले सीमित कक्षा मात्र लिन पाउने नियम लागू गरिएको उल्लेख गरे ।
उनका अनुसार रिसर्च विषयको गुणस्तर सुधार्न रिपोर्ट राइटिङ तथा प्रपोजल तयारी एउटै प्राध्यापकबाट गराउने परम्परा तोड्दै नयाँ प्राध्यापक चयन गर्ने व्यवस्था अनिवार्य गरिएको छ । एमबीएस, एमफिल तथा पीएचडीमा विद्यार्थीको स्तर उकास्न ‘हाउ टु पास टीयू सेवा आयोग’ विशेष कक्षा सञ्चालन गरिने पनि उनले बताए ।
‘७५ जनामा पाँच जना मात्रै पास भइरहनु क्याम्पसका लागि लज्जास्पद हो,’ भन्दै उनले आन्तरिक करार, मोरल बिल्डिङ र विशेषज्ञद्वारा विशेष प्रशिक्षणमार्फत सेवा आयोग पास दर बढाउने घोषणा गरे ।










प्रतिक्रिया