ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध चलिरहेको मुद्दाको फैसला आज सुनाइने भएकाले बंगलादेशमा सुरक्षा कडा पारिएको छ। गत वर्षको हिंसात्मक विद्यार्थी आन्दोलनपछि १५ वर्षे शासन अन्त्य भई हसिना भारतमा निर्वासित अवस्थामा रहेकी छन्।
विशेष न्यायाधिकरणमा जारी मुद्दामा अभियोजन पक्षले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेको छ। तेस्रो अभियुक्त, पूर्व प्रहरी प्रमुख, राज्यका साक्षी बनेकाले उनलाई सजाय नदिन सिफारिस गरिएको छ। अवामी लिगले न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ को संज्ञा दिएको छ।
हसिना र पूर्व गृहमन्त्रीमाथि विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गराएको आरोपमा अनुपस्थितिमै सुनुवाइ हुँदै आएको छ। संयुक्त राष्ट्रसंघको फेब्रुअरी रिपोर्टले घटनामा १,४०० जनासम्मको मृत्यु भएको उल्लेख गरेको छ भने अन्तरिम सरकारले ८०० भन्दा बढीको मृत्यु र करिब १४,000 घाइते भएको पुष्टि गरेको छ।
फैसला नजिकिँदै गर्दा देशभर बन्द, विस्फोट र आगजनीका घटनामा वृद्धि भएको छ। गत सातामात्र ५० भन्दा बढी आगजनी र कच्चा बम विस्फोटका घटना दर्ता भएका छन्, जसमा दुई जनाको मृत्यु भएको रिपोर्ट छ। ढाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले आगजनी तथा बम प्रहार गर्नेहरूलाई ‘देखिनेबित्तिकै गोली हान्ने’ निर्देशन जारी गरेका छन्।
सर्वोच्च अदालतका अधिकारीहरूले न्यायाधिकरण परिसर वरिपरि सैन्य तैनाथीको अनुरोध गरेका छन्। अभियोजन पक्षका अनुसार फैसला प्रक्रिया बंगलादेश टेलिभिजनसहित अन्य प्रसारण माध्यमबाट प्रत्यक्ष देखिन सक्नेछ।
हसिना ५ अगस्टमा अपदस्थ भएपछि भारत पुगेकी थिइन्। तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकार प्रमुखका रूपमा पदभार सम्हाली हसिनालाई कानुनी सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्तरिम सरकारले अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाउँदै फेब्रुअरीमा हुने भनिएको चुनावमा पार्टीलाई सहभागी हुन नदिने तयारी गरेको छ। युनुसका अनुसार बंगलादेश हाल ‘संक्रमणको संवेदनशील मोड’ मा पुगेको छ।










प्रतिक्रिया