काठमाडौँ — नेपाल प्रहरीले भारतबाट खैरो हिरोइन ल्याई काठमाडौँलाई केन्द्र बनाएर बिक्री गर्दै आएका चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ परेका मध्ये सप्तरी, राजविराजका ३९ वर्षीय रविआनन्द देवको काठमाडौँ महानगरपालिका–१३, पनेरुगाउँस्थित कोठाबाट २७२ ग्राम खैरो हिरोइन बरामद गरिएको छ। भारतको हरिपुरका २३ वर्षीय राजा कुमार र स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाहलाई चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गे अड्डाबाट स्कर्पियो गाडीमार्फत भारतबाट ल्याइएको ५९२ ग्राम हिरोइनसहित नियन्त्रणमा लिइएको हो। मोरङका २९ वर्षीय पुष्प मगर कोटेश्वर क्षेत्रमा ९३ ग्राम लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू भारतबाट खैरो हिरोइन ल्याई काठमाडौँमा बिक्री गर्ने नेटवर्कमा संलग्न थिए। उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।










प्रतिक्रिया