भोजपुर । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ।
भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार, कार्यक्रम बन्द भएपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको छ। उनले भने, “कार्यक्रम नहुँदा आवश्यक सामग्री जुटाउन, फिल्डवर्क सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको छ।”
‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीले अभ्यासमूलक ज्ञान प्राप्त गर्दै आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए। प्रधानाध्यापक रेग्मीले भने, “कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो।”
यो कार्यक्रम आर्थिक वर्ष २०८१/८२ देखि बन्द गरिएको हो। शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विद्यालयहरूले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए। कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास सञ्चालन गरेका थिए।
कार्यक्रम खारेज भएपछि व्यावसायिक अभ्यासमा आधारित पाठ्यक्रम सञ्चालन गरिरहेका विद्यालयले चुनौतीको सामना गरिरहेका छन्। प्रधानाध्यापक रेग्मीले राज्यले वैकल्पिक कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।










प्रतिक्रिया