काठमाडौँ । नेपालका सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य विस्तार गर्ने सहमति भएको छ।
भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म सम्पन्न नवौँ द्विपक्षीय समन्वयात्मक बैठकमा दुवै मुलुकका सुरक्षाप्रमुखहरूले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना आदानप्रदान तथा तालिमसम्बन्धी सहयोगबारे विस्तृत छलफल गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबी का महानिर्देशक संजय सिङ्घलले गरेका थिए। बैठकमा दुवै पक्षबीचका समन्वय प्रक्रियालाई सुदृढ बनाउने विषयमा सहमति भएको सशस्त्र प्रहरी सहप्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
समन्वयात्मक बैठकले गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ बैठकबाट पारित एजेण्डाको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै संयुक्त धारणा र आगामी रणनीति प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरेको छ।










प्रतिक्रिया