Logo

Breaking News 1

फोहोर व्यवस्थापनमा हेलचेक्र्याइ : नदीलाई डम्पिङ साइट बनाउँदा बस्तीमा असर


२९ कार्तिक २०८२, शनिबार  

23
Shares

सिरहा । गाउँबाट नगर हुँदै विशाल शहरको रुपमा समाज विकसित हुँदैछ । तर शहरीकरणबाट उत्पादित फोहोर व्यवस्थापन विकराल समस्या बनेको छ ।

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ । विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन् ।

सिरहाको गोलबजार जहाँ दैनिक १२ टन फोहोर उत्पादन हुन्छ । पसल र गुद्री हाट बजारबाट निस्केको प्लाष्टिक र अन्य फोहोरहरु नगरपालिकाले संकलन गरेर स्थानीय गागन नदीमा फाल्ने गर्छ ।

नगरपालिकाले निश्चित स्थानमा वैज्ञानिक मापदण्ड अनुरुप फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाएको छैन् । बजारबाट फोहोर संकलन गर्ने र ट्रयाक्टरमा ओसारेर नदीमा फालिदिन्छ ।

फोहोर फालिएको स्थान वरपर नदी किनारमा गोलबजार नगरपालिकाको वडा नं. २ र ३ का मानव बस्तीहरु गुरुधाम र जमनटोकी गाउँहरु छन् ।

फोहोरको दुर्गन्धले गाउँका जनता उत्पिडीत मात्र छैनन् विभिन्न रोगले ग्रसित पनि छन् । दुई गाउँमा विगत पाँच वर्षभित्र १३ जनामा क्यान्सर रोग देखिएको र ती मध्ये १० जनाको मृत्यु भइसकेको स्थानीय स्वास्थ्य संस्थाहरुको तथ्यांक छ ।

स्थानीय मधु राई फोहोर फाल्ने नगरपालिकाले निश्चित ल्याण्डफिल्ड साइट बनाएर प्लाष्टिकजन्य फोहोर एकातिर र सडाउन मिल्ने फोहोर अर्कोतिर छुट्याएर व्यवस्थापन गर्न नसकेको बताउँछन् ।

‘नगरपालिकाले सबै फोहोर नदीमा फालेर प्लास्टिकमा आगो लगाउने गर्छ । त्यसैगरी नदीमा बाढी आउँदा फोहोर बगाएर खेत खेतमा पु¥याउँछ । जमिन बञ्जर गराउँछ । मेडिकलजन्य फोहोरहरु पनि यही ठाउँमा मिल्काउने गरिन्छ,’ उनले भने ।

अर्का स्थानीय दिनेश यादव फोहोर अव्यवस्थित रुपमा फालिएकाले वातावरणमा नाकारात्मक असर परेको र दुर्गन्ध फैलिएको छ बताउँछन् । ‘फोहोरका कारण चराचुरुङ्गीहरुमा रोग व्याधी फैलिएको छ । पशुहरुको चरिचरण मासिएको छ । गागन नदीमा छठ पर्वको घाट बनाइन्थ्यो तर फोहोर विसर्जन स्थल बनाइएको हुनाले यो साँस्कृतिक विरासत र धरोहर मासिएको छ । किसानहरु वरपर खेतवारीमा आएर काम गर्न नसक्ने स्थिति उत्पन्न भएको छ,’ यादवले भने ।

फोहोर व्यवस्थापन नहुँदा स्थानीय नगरपालिकाप्रति आक्रोसित भएका छन् । उनीहरुले फोहोर व्यवस्थापनको लागि मापदण्ड अनुसार वैज्ञानिक पद्धति अपनाउन गोलबजार नगरपालिकालाई अल्टिमेटम दिएका छन् । एक महिना भित्र फोहोर व्यवस्थापनको विकल्प नखोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीय अनिल गिरिले नगरपालिकाले तत्काल समाधान खोज्नुपर्ने बताउँछन् ।

नगरपालिका भने नागरिकको आवाज नसुनी एकोहोरो नदीमा नै फोहोर फाल्ने पक्षमा देखिन्छ । नगरपालिकाको फोहोर व्यवस्थापनमा कमजोरी रहेको कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय आदित्य प्रतापले बताए ।

उक्त विषयमा नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको राय बुझ्न खोज्दा उनीहरुले प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १२ : १८ बजे